तल देखिएका रमणीय दृष्य हेर्दै समुद्र माथि आई पुगियो दृष्य साह्रै मनमोहक थियो । मेरा छेउमा दुई जना वृद्ध जोडी खुब रमाएर बाहिरका दृष्य हेर्दै थिए । यात्राको क्रममा भर्नु पर्ने ईम्बार्केशन फारम भर्न मैले सहयोग गरें, उनि छोरी ज्वाईँ भेट्न आएका रहेछन् । करिब साँढे चार घण्टाको यात्रा पछि रातको करिब नौ तीस बजे सिंगापुरको चाङगाइ विमानस्थल माथि आई पुग्दाको दृष्य अति नै सुन्दर थियो झललल बलेको शहर यो नेपाली लोडसेडिङ खेपेको आँखाले हेर्न पाउनु कत्रो सौभाग्यको कुरा ।
विमानस्थल भित्र आईपुगेपछि नेपाल र सिंगापुरको फरक देख्न पाईयो । कति अव्यवस्थित हाम्रो विमानस्थल र यहाँ कति राम्रो व्यवस्थापन । हाम्रोमा चाहि मान्छे धेरै काम चाहिँ नहुने जस्तो अनुभव भयो मलाई । ईमिग्रेशनमा ५ मिनेट जति लाग्यो क्यार फाराम र डकुमेण्टहरु देखाउन । पर्यटकीय मुलुक भएकोले ७ दिनको भिजिट भिसा चाहिँ अन एराईभल नै दिँदो रैछ । पासपोर्टमा छाप हानेपछि सात दिनलाई ढुक्क भयो । अनि ब्यागेज लिन गए र पछि विमानस्थलमा मलाई लिन आएमा अधिकारीसँग भेट भयो उनले त्यहाँको टुरिज्म सेन्टर देखाए । टूरिज्म सेन्टरबाट नै सिंगापुरको धेरै कुरा थाहा भयो । एकछिन त्यहाँ अलमलिएँ र आफूलाई आवश्यक पर्ने नक्सा तथा ब्रोश्योरहरु ब्यागमा हालें । त्यसपछि ट्याक्सीमा चढियो दुबै जना । ट्याक्सी यात्राका क्रममा उनले मलाई नेपालको बारेमा सोधे मैले थाहा भए जति कुरा भन्ने प्रयास गरेँ । नेपालमा विदेशीहरु ध्यान गर्न आउने कुरा भन्दा उनि साह्रै प्रभावित भएका थिए । सिंगापुरबाट पनि नेपाल जाने पर्यटकहरु मध्ये केहि ध्यान गर्नका लागि नै पनि जाने रहेछन्, उनका साथीहरु पनि गएका थिए रे उनि पनि एक पटक नेपाल आएका रहेछन् । उनलाई खास दुई दिनको लागि तोकिएको रहेछ एकदिन मलाई विमानस्थलबाट बासस्थान सम्म पुर्याउने र भोलिपल्ट ईमिग्रेशन, बैक र स्कूल भर्नाको काम सकेपछि उनको काम फत्ते हुने रैछ ।
बाटोमा उनले बैक तथा सपिङ सेन्टरका ठूला ठूला भवन, सिंगापुरको पुरानो कार्गो पोर्ट र सिगापुर फ्लायरको संसारकै सबैभन्दा ठूलो रोटेपिङ देखाए जुन प्राविधिक गडबडीका कारण बन्द भएको थियो, अहिले चाहिँ खुलीसक्यो । मेट्रो ट्रेन र बसमा ईलेक्ट्रोनिक पेमेन्ट गर्न ईजिकार्ड (लगभग एटीएम कार्ड जस्तै हो छुवाए मात्र पुग्ने) प्रयोग गर्दा अलि सस्तो पर्ने रहेछ ।
No comments:
Post a Comment