आइटी—संवाद रूद्रप्रसाद गिरीसँग |
गाउँको चौतारोदेखि सहरको चोकसम्म हतास र कुण्ठित बेरोजगार युवायुवतीका प्रलाप र सुस्केरा छताछुल्ल पोखिएका छन् । के गर्ने र कहाँ जाने कुनै टुंगो नभएकाहरू 'क्या झुर देशमा जन्मिएछ, यार' भन्दै निराशाको अन्धागल्छीमा खसिरहेछन् ।
हात, दिमाग र हृदयले गर्ने हो आइटीको काम । प्राकृतिक रुपले यति सुन्दर र सम्पन्न राष्ट्रका मान्छेका दिमाग र हृदय ताजा र स्वच्छ हुन्छन् । स्वच्छ र ताजा दिमाग र हृदय भएकाहरूले सूचना-प्रविधिका काम झन् दक्षतासहित गर्न सक्छन् । |
कम्प्युटरप्रति लगाव
२२ वर्षको उमेरमा पहिलोपटक कम्प्युटर छोए गिरीले । नाइटो र्झनेबित्तिकै कम्प्युटरसँग खेल्न थाल्ने वर्तमान पुस्तालाई यो अस्वाभाविक लाग्न सक्छ । २०४६ सालमा नेपालमा कम्प्युटरले भर्खर-भर्खर चलखेल गर्न थालेको थियो । त्यसो त नेपालमा कम्प्युटरको प्रवेश नै ढिलो भएको हो । २०२८ सालमा जनगणनाका तथ्यांक संकलन गर्नका लागि नेपालमा कम्प्युटर भित्र्याइयो ।
चितवनको समा कम्प्युटर इन्टरनेसनलबाट कम्प्युटर सफ्टवेयरमा डिप्लोमा गरेका र अक्सफोर्ड कम्प्युटर इन्स्टिच्युटबाट सिस्टम एनालाइजिङ एन्ड स्त्रिप्ट राइटिङमा प्रशिक्षण लिएका गिरीको २०४६ सालदेखि कुनै दिन कम्प्युटर नछोई बितेको छैन । एक प्रकारले कम्प्युटरोहोलिक नै हुन् उनी ।
पाम इन्फोटेक
सुरुमा चितवनमा उनले सञ्चालन गरेको पाम इन्फोटेक प्राइभेट लिमिटेड हाल केडिया अर्गनाइजेसनको एक युनिटका रूपमा रहेको छ । आइटी प्रोफेसनल उत्पादन गर्ने मूल लक्ष्य रहेको पामको कार्यालय बानेश्वरमा छ । उनको आइटीसम्बन्धी 'भिजन'बाट प्रभावित भएर आइटीमा खासै ज्ञान नभएका केडिया अर्गनाइजेसनका अध्यक्ष विमल केडियाले सँगै काम गर्ने प्रस्ताव गरेपछि उनले सहर्ष स्विकार गरे । पामका माध्यमबाट सूचना-प्रविधि क्रान्तिमा यथाशक्य योगदान गर्न लालायित छन् गिरी ।
विदेशमा आइटी प्रोफेसनलको कमाइ
गिरीका अनुसार अमेरिकामा यौटा आइटी प्रोफेसनलले न्यूनतम मासिक दस हजार डलर कमाउँछ । त्यसमाथि आवद्ध कम्पनीबाट प्राप्त हुने आवास तथा सवारीसुविधा छँदै छ । भारतीय आइटी प्रोफेसनलहरूले पनि अमेरिकामा राम्रो कमाउँछन्, न्यूनतम मासिक आठ हजार डलर । नेपाली आइटी प्रोफेसनलहरूको चाहिँ छुट्टै ब्रान्ड भ्यालु बनिनसकेकाले उनीहरू मासिक न्यूनतम पाँच हजार डलर कमाउन सक्छन् ।
नेपालमा आइटी प्रोफेसनलहरूको खडेरी
पाम इन्फोटेकले २० जना आइटी प्रोफेसनल मागेको महिनौं भइसक्यो, तर भनेजस्ता आइटी प्रोफेसनल पाउन सकिरहेको छैन । तेजबुद्धि र प्रतिभाशाली आइटी प्रोफेसनलहरू अमेरिका र युरोपतिर दौडिहाल्छन् ।
नाङ्ले पसलजस्ता कम्प्युटर इन्स्टिच्युट
'यहाँ तीन महिनामा कम्प्युटर सिकाइन्छ', 'रोजगारी ग्यारेन्टीका साथ कम्प्युटर सिकाइन्छ' आदि विज्ञापनसहितको बोर्ड झुन्ड्याएर चोक-चोकमा बसेका छन् कम्प्युटर इन्स्टिच्युटहरू । तर, तिनले दिने प्रशिक्षण हलुका र स्तरहीन हुन्छन् । त्यस्ता इन्स्टिच्युटहरूबाट आइटी प्रोफेसनलहरू उत्पादन हुने कल्पनासम्म गर्न सकिँदैन । सूचनाप्रविधिको महत्त्व र मूल्यलाई आत्मसात् गरेर सूचना-क्रान्तिमा योगदान गर्न एकाध इन्स्टिच्युट मात्रै सक्षम र तत्पर छन् ।
आइटी प्रोफेसनललाई चिन्ने तरिका
कम्प्युटर शिक्षासम्बन्धी एक डोको सर्टिफिकेट बटुल्दैमा कोही आइटी प्रोफेसनल हुँदैन । २० मिनेटभित्र को आइटी प्रोफेसनल हो, को होइन भन्ने कुरा पत्ता लाग्छ भन्छन् गिरी । 'यदि कसैले मैले यो पनि जानेको छु, त्यो पनि जानेको छु भन्यो भने त्यो आइटी प्रोफेसनल हुनै सक्दैन । किनभने कम्प्युटर र सूचना-प्रविधि यति भास्ट (व्यापक) छ कि कुनै पनि मान्छे यौटा स्पेसिफिक (खास) क्षेत्रमा मात्रै विज्ञ हुन सक्छ । सूचना-प्रविधिमा म धेरैथरीको विशेषज्ञ हुँ भन्नु म दाँत, आँखा र मुटुको डाक्टर हुँ भनेजस्तै हास्यास्पद हुन्छ ।'
आइटी प्रोफेसनल जो पनि बन्न सक्छ
आइटी प्रोफेसनल बन्नका लागि धेरै पढ्नुपर्दैन । पाँच कक्षासम्म पढेकाले पनि यसको प्रशिक्षण लिन सक्छ । कम्प्युटरमा प्रयोग हुने अंग्रेजीको शब्दार्थ, व्याकरण जानिरहनुपर्दैन । उनी यस्तो उदाहरण दिन्छन्, ' कम्प्युटरमा प्रयोग हुने एडिट शब्दको फंकसन (काम) जाने पुग्छ, अर्थ थाहा पाइराख्न पर्दैन ।' सिक्ने चाहना र लगाव भएको जोसुकै पनि आइटी प्रोफेसनल बन्न सक्छ । औपचारिक शिक्षा कम भएका मानिस सफल आइटी प्रोफेसनल भएका धेरै उदाहरण छन् ।
कृषकलाई किन चाहिन्छ कम्प्युटर ?
वैज्ञानिक खेती प्रणालीको ज्ञान दिने कृषिको अडियो- भिज्युअल ट्युटर (सिडीमा श्रव्य/दृश्यसहितको प्रशिक्षण) बाट कृषकले कुन बालीमा कुन-कुन रोग लाग्न सक्छन्, मलखाद कति प्रयोग गर्नुपर्छ आदि जानकारी सजिलै हासिल गर्न सक्छन् । यसका लागि कम्प्युटर खोलेर सिडी हाल्न जाने पुग्छ । इ-लर्निङ भनिन्छ यो विधिलाई ।
'सिंगै नेपाल आइटीपार्क
नेपाल आइटी उद्योगका लागि विश्वको सबभन्दा उपयुक्त राष्ट्र हो भन्छन् गिरी । उनको तर्क छ, 'हात, दिमाग र हृदयले गर्ने हो आइटीसम्बन्धी काम । प्राकृतिक रूपमा यति सुन्दर र सम्पन्न राष्ट्रका मान्छेलाई आफ्ना दिमाग र हृदय ताजा र स्वच्छ राख्न सजिलो हुन्छ । स्वच्छ र ताजा दिमाग र हृदय भएको मानिसले सूचना-प्रविधिका काम झन् दक्षतासहित गर्न सक्छ । तसर्थ, पूरै नेपाललाई आइटीपार्क बनाइदिए हुन्छ ।'
औद्योगिक क्रान्तिका लागि सूचना-प्रविधि क्रान्ति
'नेपाललाई सियो पनि बनाउन नसक्ने देश भनिन्छ । तर, के विचार गर्नुस् भने नेपालले सियो बनायो भने यौटा सियोको सय रुपैयाँ पर्नेछ ।' गिरीका अनुसार नेपालमा सूचना-प्रविधि क्रान्तिबाट मात्रै औद्योगिक क्रान्ति सम्भव छ । औद्योगिक क्रान्ति नभई आर्थिक क्रान्ति हुँदैन । आर्थिक क्रान्तिविना भौतिक सुख र समृद्धि सम्भव छैन । जनताका हातमा पैसा भएन भने उनीहरू सुविधा खरिद गर्न सक्दैनन् । सुविधा खरिद गर्न नसकेपछि जीवन कष्टकर हुने नै भयो ।
६ महिनामा बेरोजगारी समस्या हल
कुनै पनि व्यक्तिलाई ६ महिनाको स्तरीय प्रशिक्षण दिएर आइटी प्रोफेसनल बनाउन सकिन्छ । ६ महिनामा सफ्टवेयर डेभलपमेन्ट, डेस्कटप पब्लिकेसन आदि आइटीसम्बन्धी कार्यक्रमहरूमा दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ । औपचारिक शिक्षाका सर्टिफिकेट मात्रै भएका, तर विशेष सीप नभएका बेरोजगारहरू पूरै दक्षिण एसियामा छ्यापछ्याप्ती छन् । हाम्रा विश्वविद्यालय बेरोजगार उत्पादन गर्ने कारखाना मात्रै भएका छन् ।
'कतै मन नडुलाई ६ महिनासम्म एकदम ध्यान दिएर प्रशिक्षण लिने हो भने आइटी प्रोफेसनल बन्न सकिन्छ । आइटीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार यति ठूलो छ यसमा दक्षहरूले बेरोजगार रहनुपर्दैन ।' रुद्रप्रसाद गिरी आइटी उद्योगले नेपाललाई पाल्न सक्ने सम्भावनाबारेमा जनचेतना जगाउनुपर्ने टड्कारो आवश्यकता देख्छन् ।
कुनै साधारण टेम्पु ड्राइभरले यौटा सफ्टवेयर बनाएर अमेरिकाको मल्टिनेसनल कम्पनीलाई दस हजार डलरमा बेच्यो रे भन्ने समाचार पढ्न पाइएला ? औद्योगिक क्रान्तिमा एक भूमिका निर्वाह गर्न खोजिरहेका रुद्रप्रसाद गिरीसँग यो प्रश्न नसोधिए पनि उनको उत्तर सायद यस्तो हुन्थ्यो- 'अवश्य ।'
विनोदविक्रम केसी
gkcbinodbikram@gmail.com
No comments:
Post a Comment